चीन र भारतका विदेशमन्त्रीबीच लद्दाख गतिरोधको विषयमा छलफल, दुवैको मिल्नुपर्ने धारणा

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : ५२


चीन र भारतबीच वास्तविक नियन्त्रण रेखामा जारी तनाव समाप्त भइसकेको छैन। यसबीचमा चीनका विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच लद्दाखमा जारी गतिरोधको विषयमा छलफल भएको छ।

ताजकिस्तानको दुसान्बेमा आयोजित २१ औं एससीओ बैठकमा उनीहरुबीच भेट भएको बीबीसीले जनाएको छ। दुवै मन्त्रीले पूर्वी लद्दाखको एलएसीमा जारी तनाव साथै वैश्विक स्थितीको विषयमा चर्चा गरेका थिए।

सो क्रममा उनीहरुले गत १४ जुलाईमा भएको बैठकको स्मरण गरे। सो बैठकपछि केही प्रगति देखिएको छ। विवादित गोगरा क्षेत्रबाट हाल दुवै देशका सेना पछाडि हटेको अवस्था छ। यद्यपी सीमाको विषयमा अझैं कयौं विवाद छन् जसको समाधान हुन बाँकी छ।

भारतको विदेशमन्त्रालयले एक वक्तव्य जारी गर्दै गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको र दुवै नेताले चीन र भारत मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेको जनाएको छ। बाँकी रहेका दुई देशबीचको विवाद पनि समाधान गर्न वार्ता जारी रहनुपर्नेमा पनि दुवै नेताको एकमत छ।


प्रतिक्रिया दिनुहोस्