अफगान द्वन्द्वः उद्धारमा ढिलासुस्ती गरेपछि नेदरल्यान्ड्सकी विदेशमन्त्रीले दिइन् राजीनामा

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : ३५


अफगानिस्तानबाट आफ्ना नागरिक उद्धार गर्ने विषयमा विवाद भएपछि नेदरल्यान्ड्सकी विदेशमन्त्री सिग्रिड कागले पदबाट राजीनामा दिएकी छिन्। डच सांसदहरुले विदेशमन्त्री कागविरुद्ध निन्दा प्रस्ताव पारित गरेपछि उनले राजीनामा दिएकी हुन्।

सो निन्दा प्रस्तावमा सरकारले अफगानिस्तानबाट निकै ढिला र सुस्त गतिमा आफ्ना नागरिकको उद्धार गरेको उल्लेख छ। कागले उद्धार कार्य ठिक समयमै भएको अडान लिँदै आएकी छिन्। यद्यपी उनले बहुमत सांसदको फैसलालाई स्वीकार गरेका कारण पद छाड्न राजी भएको जनाएकी छिन्।

अगष्ट महिनाको अन्तिम दुई हप्तामा नेदरल्यान्ड्सले अफगानिस्तानबाट २ हजार नागरिकको उद्धार गरेको थियो। यद्यपी त्यहाँ हालसम्म सयौं स्थानीय कर्मचारी फसेको बताइएको छ। उनीहरुले डच सेनाको लागि दोभासेको काम गरेका थिए। उनीहरुको पनि उद्धार हुनुपर्ने डच सांसदको माग छ।

तालिबानले डच सरकारले सोचेभन्दा चाँडै देश कब्जा गरेकाले उद्धारमा ढिलाई भएको कागको भनाइ छ। काग उदारवादी डी६६ पार्टीकी सांसद हुन्। अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि राजीनामा दिने उनी विश्वको पहिलो विदेशमन्त्री हुन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्