उत्तर कोरियाद्वारा रेलबाट प्रहार गर्न सकिने क्षेप्यास्त्रको परीक्षण!

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  १२ : ३३


उत्तर कोरियाले बुधबार दुईवटा क्षेप्याास्त्र परीक्षण गरेको थियो। उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार उत्तरले हिजो गरेको क्षेप्यास्त्र परीक्षण ‘रेलवे–बर्न मिसाइल सिस्टम’ अर्थात् रेलबाट क्षेप्यास्त्र प्रहार गर्न सकिने प्रणाली हो।

यसको अर्थ उत्तर कोरियाले कुदिरहेको रेलबाट पनि क्षेप्यास्त्र प्रहार गर्नसक्छ। केसीएनएका अनुसार हिजोको क्षेप्यास्त्र ८ सय किलोमिटरसम्म उडेर समुद्रमा खसेको थियो।

मंगलबार क्रुज क्षेप्यास्त्र परीक्षण गरेकै भोलिपल्ट उत्तर कोरियाले आणविक क्षमताको ब्यालेस्टि क्षेप्यास्त्र परीक्षण गरेको हो। क्रुज क्षेप्यास्त्र परीक्षणमा संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छैन। तर ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार जडान गर्न सकिने र यो लामो दुरीमा पुग्नसक्ने भएकाले राष्ट्रसंघले यस्ता हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ। यद्यपी उत्तरले प्रतिबन्ध बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

बुधबार उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको केही घण्टामै दक्षिण कोरियाले पनि पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। दक्षिण कोरियाले यसअघि नै पनडुब्बीबाट प्रहार गर्न सकिने एसएलबीएम क्षेप्यास्त्रको परीक्षण गर्ने तय थियो।

तर हिजो उत्तरले क्षेप्यास्त्र प्रहार गरेपछि नै दक्षिणले क्षेप्यास्त्र हान्नुलाई उत्तरविरुद्धको प्रतिक्रियाको रुपमा हेरिएको छ। पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गर्ने प्रविधिको विकास गर्नेमा दक्षिण कोरिया सातौं राष्ट्र पनि बनेको छ। दक्षिण कोरियाले उत्तर कोरियाको कुनै पनि आक्रमणको जवाफ दिन आफू सक्षम भएको बताउँदै आएको छ।

कोरियाली गृहयुद्ध पश्चात नै उत्तर कोरियाको खतराविरुद्ध दक्षिण कोरियालाई साथ दिन दक्षिणमा झन्डै ३० हजार अमेरिकी सेना तैनाथ छन्। रोयटर्स र बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्