उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको केही घण्टामै दक्षिण कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ११ : ०६


उत्तर कोरिया र दक्षिण कोरियाले केही घण्टाको फरकमा ब्यालेस्टि क्षेप्यास्त्र परीक्षण गरेका छन्। ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षणसँगै यी दुई देशबीच हतियार प्रतिस्पर्धामा होडबाजी चलेको प्रस्ट भएको छ।

उत्तरले आफ्नो पूर्वी तटमा रहेको जापान सागरमा बुधबार बिहानै दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो। ६ महिनापछि उत्तर कोरियाले लगातार दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो। यो संयुक्त राष्ट्रसंघको प्रस्तावको उल्लंघन हो।

क्रुज क्षेप्यास्त्र परीक्षणमा संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छैन। तर ब्यालेस्टिक क्षेप्यास्त्रमा आणविक हतियार जडान गर्न सकिने र यो लामो दुरीमा पुग्नसक्ने भएकाले राष्ट्रसंघले यस्ता हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ। यद्यपी उत्तरले प्रतिबन्ध बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

बुधबार उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको केही घण्टामै दक्षिण कोरियाले पनि पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। दक्षिण कोरियाले यसअघि नै पनडुब्बीबाट प्रहार गर्न सकिने एसएलबीएम क्षेप्यास्त्रको परीक्षण गर्ने तय थियो।

तर हिजो उत्तरले क्षेप्यास्त्र प्रहार गरेपछि नै दक्षिणले क्षेप्यास्त्र हान्नुलाई उत्तरविरुद्धको प्रतिक्रियाको रुपमा हेरिएको छ। पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गर्ने प्रविधिको विकास गर्नेमा दक्षिण कोरिया सातौं राष्ट्र पनि बनेको छ। दक्षिण कोरियाले उत्तर कोरियाको कुनै पनि आक्रमणको जवाफ दिन आफू सक्षम भएको बताउँदै आएको छ।

कोरियाली गृहयुद्ध पश्चात नै उत्तर कोरियाको खतराविरुद्ध दक्षिण कोरियालाई साथ दिन दक्षिणमा झन्डै ३० हजार अमेरिकी सेना तैनाथ छन्। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्