एमालेको टिप्पणी : देश बजेटविहिन हुनुमा देउवा सरकार जिम्मेवार

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ९ : ५२


काठमाडौं । नेकपा (एमाले)ले मुलुकमा बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार भएको टिप्पणी गरेको छ।

संवैधानिक र कानूनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमालेका महासचिव ईश्वर पोखरेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सभामुख र सरकारको व्यवहार भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन आग्रह गरिएको छ।

एमाले महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ।’

प्रतिनिधिसभाको बैठक शुरू भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै नबनेको भन्दै एमालेले यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद अधिवेशन स्थगित गरिएको आरोप लगाएको छ।


प्रतिक्रिया दिनुहोस्