सरकारले ब्युँतायो भूमि आयोग: अध्यक्षमा केशव निरौला, उपाध्यक्षमा खड्का नियुक्त

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ५७


काठमाडौं । सरकारले भूमि आयोग गठन गरेको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले राष्ट्रिय भूमि आयोग २०७८ को नाममा आयोग ब्युँत्याएको हो।

भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले आयोग गठन गर्दै अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराए।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि अध्यक्ष निरौलाले सुकुम्वासीका समस्या समाधान गरिने बताए।

नव गठित आयोगमा अरु सदस्यहरु भने नियुक्त भएका छैनन्।

यसअघि ओली सरकारले आफ्ना कार्यकर्ता भर्ती गरेको भन्दै देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग नै खारेज गरेको थियो।

सुकुम्बासीका समस्याहरुलाई हटाउँछौंः अध्यक्ष निरौला

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त अध्यक्ष निरौंलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने प्रतिवद्धता व्यक्त गरेका छन।

उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए।

अध्यक्ष निरौलाले भने, ‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन, र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरु थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौँ।’

सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्