माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : बिष्णु पौडेल

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ४ : ३९


काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडलले प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन्।

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत भएका थिए।

उनले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिए।

पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाए।

उनले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गरे।

पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको भन्दै एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए।

केही समय आफ्नै पार्टीभित्रका स्वार्थीहरूका कारण प्रतिपक्षमा बस्नु परे पनि एमालेले आफ्नो हैसियत देखाउने दावी गरे।

तत्कालीन नेकपाका महासचिव पौडेलले प्रचण्ड माधवले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अध्यक्ष केपी ओली र आफूसहितलाई साधारण सदस्यबाट निष्कासन गरेको सम्झिदै कब्जा गर्न नसकेपछि कांग्रेसको पछि लाग्न तयार भएको बताए।

पौडेलले भने, ‘उनीहरू पार्टी फुटाएर सत्तामा जान खोजे। एमालेमा डेढ दशक मुख्य नेतृत्व गरेका र प्रधानमन्त्री भएका माधव नेपालले प्रचण्डको साथ लिएर पार्टी कब्जा गर्न खोजे। उनीहरु नसकेपछि आफैं बाहिरिएका छन्, यसले केही असर गर्दैन।’

पौडेलले फागुन २३ को फैसलापछि पनि नेकपा एकता गरौं भन्दा प्रचण्ड तत्कालीन माओवादीका केही झुण्डलाई लिएर अलग भएको आरोपसमेत लगाए।

उनले माओवादी आन्दोलनको मूलधार केपी अ‍ोली नेतृत्वकै पक्षमा रहेको र एमालेमै समाहित भएको बताए।

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे।

रुपन्देहीबाटै निर्वाचित नेता पौडेलले अघिल्लो स्थानीय चुनावमा कांग्रेस र माआवादी मिलेर लड्दा पनि एमालेले जितेको भन्दै आउने चुनावमा ५ वटै निर्वाचन क्षेत्र र १६ वटा स्थानीय तहमा जिताउनेगरि लाग्न कार्यकर्तालाई निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस्