तालिबानले अमेरिकासँग सहयोग माग्दै भन्योः गरिब देशप्रति ठूलो हृदय राखौं

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ४ : ०७


तालिबानले अफगानिस्तानलाई आपतकालीन सहायता प्रदान गर्न विश्वभरको राष्ट्रसँग आग्रह गरेको छ। सो क्रममा अमेरिकालाई सम्बोधन गर्दै तालिबानले गरिब देशप्रति अमेरिकाले ठूलो हृदय राख्नुपर्ने बताएको छ।

समाचार संस्था एएफपीको खबरअनुसार जेनेभामा सोमबार भएको संयुक्त राष्ट्रसंघको दाता सम्मेलनमा अफगानिस्तानलाई विश्वभरका राष्ट्रले कुल एक अर्ब २० करोड अमेरिकी डलर आर्थिक सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

वर्तमान समयमा अफगानिस्तानमा तालिबानको शासन छ। तालिबान हालै सत्तामा आएका कारण त्यहाँको राजनीतिक, सामाजिक र आर्थिक अवस्था निकै नाजुक छ। यद्यपी अफगानिस्तान पहिल्यै लामो समयदेखि विश्वभरका देशकै सहायतामा निर्भर भएको राष्ट्र हो।

स्थिती यतिसम्म कमजोर भएको छ कि त्यहाँका सरकारी कर्मचारीले महिनौंयता तलबविहीन भएर काम गरिरहेका छन्। त्यहाँ खाद्यसंकट उत्पन्न भएको छ।

नवनिर्वाचित तालिबान शासनको कार्यवाहक विदेशमन्त्री आमिर खान मुत्तकीले यसबीचमा हालै आयोजित पत्रकार सम्मेलनमा अफगानिस्तानलाई विश्वभरबाट आर्थिक सहायता चाहिएको बताएका थिए। उनले तालिबानले प्राप्त गरेको सहयोग सही ढंगबाट खर्चगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले देशको गरिबी र वर्तमान समस्या सुधार्न सहयोग रकम खर्च हुने उल्लेख गरेका छन्।

मुत्तकीले भनेका छन्,‘हामी अफगानिस्तानलाई विश्वभरका देशले गर्ने भनेको सहयोगबाट कृतज्ञ छौं र सहायता जारी राख्न अपिल गर्दछौं।’ उनले अमेरिकालाई सम्बोधन गर्दै तालिबानको अमेरिकाले सराहना गर्नुपर्ने पनि बताए।

गत महिना अमेरिकालाई तालिबानले उद्धारमा अनुमति दिएर सहयोग गरेको मुत्तकीको भनाइ छ। यस्तै उनले अमेरिकाले पनि आर्थिक सहयोग गर्नुपर्ने बताउँदै भनेका छन्,‘अमेरिका ठूलो देश हो र उसँग ठूलै हृदय हुन जरुरी छ।’

पाकिस्तान, कतार, उज्बेकिस्तान, चीनजस्ता राष्ट्रबाट भने अफगानिस्तानलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त भइसकेको छ। मुत्तकीका अनुसार चीनले १५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्नेछ। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्