सन्दीप ओडीआई वरियतामा पर्ने पहिलो नेपाली खेलाडी

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ३ : १३


नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक अर्को अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सफल भएका छन्। सन्दीप नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट लिग खेल्ने पहिलो नेपाली क्रिकेटर हुन्।

यतिबेला उनी ओडीआई वरियतामा पर्ने पहिलो नेपाली खेलाडी पनि बन्न सफल भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको ओडीआई वरियता शीर्ष एक सयमा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँगै सन्दीप पनि परेका हुन्।

यससँगै सन्दीप नेपालबाट शीर्ष एक सय ओडीआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन्। आइसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन्।

सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन ९५ औं र वेस्टइन्डिजका ओशान थोमस ९४ औं स्थानमा छन्। ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडीआई वरीयतामा कुनैपनि खेलाडी छैनन् ।

टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८१ औं स्थानमा छन्। टि२० आई वरियता ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन्। पूर्वकप्तान पारस खड्का टि२० आईको ब्याटिङतर्फ ८८ औं स्थानमा छन्। कप्तान ज्ञानेन्द्र मल्ल पनि टि२० आई वरियता ब्याटिङतर्फ ९३ औं स्थानमा छन्।

नेपाल ओडिआई वरियतामा १५ औं र टि२० आई वरियतामा १३ औं स्थानमा छ। ओमान भ्रमणमा रहेका सन्दीपले पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा सानदार बलिङ गरेका थिए। पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए। अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए।

ओमानसँगको खेलमा भने पेटमा समस्याको कारण सन्दीपले बलिङ गर्न सकेका थिएनन्।


प्रतिक्रिया दिनुहोस्