बेलायत–चीन टकराब: चिनियाँ राजदूतलाई बेलायतको संसदमा प्रतिबन्ध

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  १२ : ४७


चीनले केही ब्रिटिश सांसदमाथि प्रतिबन्ध लगाएको अवस्थामा यूकेले चिनियाँ राजदूतलाई उनी त्यहाँको संसदमा आउन प्रतिबन्ध लगाएको छ।

चीनसम्बन्धी सर्वदलीय समूहले आयोजना गर्न लागेको संसदको एउटा जमघटमा चिनियाँ राजदूत झङ जगवाङ सहभागी हुन लागेका थिए।

तर विरोध भएपछि तल्लो सदनका सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन हाउस अफ लर्ड्सका सभामुख लर्ड मक्फलले झङको सहभागिता सम्भव नभएको बताए।

चिनियाँ दूतावासले यो एउटा घृणित र कायर निर्णय रहेको र यसले दुवै देशको हितलाई हानि पुर्‍याउने जनाएको छ। प्रतिबन्धसम्बन्धी समाचार दुई देशका सरकारबीच तनाव चुलिएका बेला आएको हो।

प्रतिबन्धबारे डेली टेलिग्राफले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। गत मार्चमा चीनले तल्लो सभाका पाँच र माथिल्लो सभाका दुई सांसदमाथि यात्रासम्बन्धी प्रतिबन्ध लागु गरेको थियो र उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो।

उनीहरूमाथि चीनबारे अफवाह फैलाएको आरोप लगाइएको छ।

शिन्जियाङमा मानव अधिकारको उल्लङ्घन गरेको भन्दै चिनियाँ अधिकारीहरूमाथि यूकेले पहिलो पटक लगाएको प्रतिबन्धको प्रत्युत्तरमा चीनले त्यस्तो कदम उठाएको थियो।

तथापि चीनसम्बन्धी संसदीय समूहले जगवाङलाई आफ्नो समारोहमा निमन्त्रणा दिने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्