काठमाडौं । काठमाडौंमै बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ।
ललितपुरकी ३० बर्षीया महिलामाथि काठमाडौंको ठूलो भर्याङमा झारफुक गर्ने क्रममा बोक्सी भन्दै कुटपीट भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
कुटपीटको आरोपमा ती महिलाका श्रीमानसहित दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार थिङचाहि झारफूक गर्ने धामी हुन्। उनलेनै ती महिलाको शरीरमा बोक्सी चढेको भन्दै कुटपीट गरेका थिए।
धामीले कुटपीट गरेपछि त्यहाँ रहेका अन्य व्यक्तिले पनि कुटपीट गरेका थिए।
पीडित महिलाको शरीरमा कुटपीटबाट नीलडाम सहित घाउ रहेको छ।
पक्राउ परेकाहरुमाथि बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितका श्रीमानले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए।
थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ।