आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई जितको लागि १९७ रनको लक्ष्य दिएको छ।
युवा ब्याट्सम्यान आसिफ शेखको अर्धशतकमा नेपालले ओमनलाई जितको लागि १९७ रनको सामान्य लक्ष्य दिएको हो।
ओमनको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ४७.४ ओभरमा १९६ रनमा समेटियो।
नेपालका लागि आसिफले ११२ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ९० रनको योगदान दिए।
आसिफबाहेक अन्य खेलाडीले खासै राम्रो खेल प्रदर्शन गर्न सकेनन्। नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेल शून्यमा बाहिरिए।
कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले सात तथा विनोद भण्डारीले छ रन बनाए।
यस्तै कुशल मल्लले चार, बिक्रम सोबले दुई, करण केसीले २१ रन बनाए भने सुसन भारी दुई रनमा अविजित रहे।
नेपालले सात रन अतिरिक्त प्राप्त गरेको थियो।
ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा एक मेडनसहित ४७ रन खर्चेर सर्वाधिक चार विकेट लिए।
नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक/एक विकेट लिए। रासस