उत्तरको क्षेप्यास्त्र परीक्षणपछि पनि अमेरिका नरम, भन्योः वार्ताको ढोका खुला

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ११ : ०५


उत्तर कोरियाले शनिबार र आईतबार लगातार दुईवटा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो। सो क्षेप्यास्त्रहरु १५ सय किलोमिटरभन्दा बढीको दुरी पार गरेर मार हान्नसक्ने खालका क्षेप्यास्त्रहरु हुन्।

संयुक्त राष्ट्रसंघले परमाणु हतियार परीक्षणमा रोक लगाएको छ। यद्यपी राष्ट्रसंघको निमयलाई बारम्बार बेवास्ता गर्दै उत्तर कोरियाले परमाणु हतियारहरु परीक्षण गरिरहेको हो। अमेरिकाले यो विषयमा कडा टिप्पणी गर्ने अनुमान गरिएको थियो।

तर अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न चाहेको र शान्ति स्थापित गर्न चाहेको प्रतिक्रिया जनाएको छ। अमेरिका उत्तरको क्षेप्यास्त्र परीक्षणप्रति नरम देखिएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर कोरियाली दूत सङ किमले क्षेप्यास्त्र परीक्षणपछि भनेका छन्,‘हामी आशा गर्दछौं कि हाम्रो वार्ताका प्रस्तावहरुलाई उत्तर कोरियाले बिना शर्त सकारात्मक प्रतिक्रिया दिनेछ।’

उनले उत्तर कोरियाप्रति शत्रुतापूर्ण रबैया अमेरिकासँग नभएको पनि उल्लेख गरे। जापानमा जापान, दक्षिण कोरिया र अमेरिकाका प्रतिनिधिबीचको छलफलमा अमेरिकाबाट यस्तो भनाइ आएको हो।

उत्तर कोरियालाई छलफलमा ल्याउन यी तीन देशका प्रतिनिधिबीच छलफल चलिरहेको हो। यी राष्ट्रहरुले उत्तर कोरियालाई मानवीय सहायता दिने विषयमा पनि छलफल गरिरहेका छन्। कोरोना भाइरस तथा प्राकृतिक विपत्तिका कारण हाल उत्तर कोरियामा खाद्य संकट उत्पन्न भएको छ।

यसअघि सन् २०१८ र २०१९ मा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका सर्वोच्च नेता किम जोङ उनबीच दुईपटक शिखर वार्ता भएको थियो। उत्तरमाथिका प्रतिबन्धहरु पूर्ण रुपमा नहटाउने ट्रम्पको अडानपछि छलफल निष्कर्ष विहिन भएको थियो।

अन्तर्राष्ट्रियस्तरमा लागेका प्रतिबन्धहरु पूर्ण रुपमा हटेमा आफूले क्षेप्यास्त्र परीक्षणका कार्यक्रम सँधैको लागि बन्द गर्ने उत्तर कोरियाको भनाइ छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्