अमेरिकाको ओहायोमा आगलागी हुँदा ५ नेपालीभाषी भुटानीको मृत्यु

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : २३


काठमाडौं । अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको आगलागीबाट ५ जना नेपालीभाषी भुटानी परिवारका सदस्यहरूको मृत्यु भएको छ । सेप्टेम्बर १३ (सोमबार) बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ ।

एक्रोन ​अग्नि नियन्त्रण विभागका अनुसार बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका छन् । एक्रोन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा बिहान १२ः५० मा आगो लागेको हो ।

त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । उनीहरू पढ्ने विद्यालय आर्कन सरकारी विद्यालयका प्रवक्ताका अनुसार ५ वर्ष,११ वर्ष र १६ वर्षका विद्यार्थीको निधन भएको जनाएका छन् ।

अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिब ६० वर्षीय पुरुष तथा ४८ वर्षीय महिलाको निधन भएको बताए । उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्