राष्ट्रिय सहमति गरी एमसीसी चाँडै पास गर्नुपर्छ : बाबुराम

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ०४


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले एमसीसी चाँडै पास गरिनुपर्ने बताएका छन।

सत्ता गठबन्धनमा समेत रहेका नेता भट्टराईले सोमबार गृहजिल्ला गोरखामा सञ्चारकर्मीहरुसँग एमसीसीमा कुनै अलमल गर्ने बिषय नभएको भन्दै यसलाई पास गरिनुपर्ने बताए।

नेता भट्टराईले भने ‘राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ।’

आफ्नो पार्टी एक्लैले निर्णय गरेर मात्र नपुग्ने भएकाले सबै दलहरुले सहमति जनाउनुपर्ने उनले बताए।

एमसीसीबारे उनले अगाडी भने ‘एमसीसीले सबै पुग्ने होईन, तर खानै नपाउने गरिबलाई एक छाक खान दिँदा जस्तो सन्तोष हुन्छ, एमसिसीले त्यस्तै राहत हुन्छ भन्ने मान्यता हो।

डा.भट्टराईले एमसीसीमा अनुदानबाहेक अन्य कुनै बिषय नभएको समेत दाबी गरे।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताए।

“एससीसी पनि विशुद्धरूपमा एउटा परियोजना अनुदान सम्झौता हो। यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्”, उनले भने।

डा.भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताए।

उनले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताए।

“केही दल खास गरी हाम्रा पूराना कम्युनिष्ट साथीको जुन एउटा धङ्धङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक सङ्घर्ष पनि प्रतिबन्धित हुन पुग्यो”, डा भट्टराइले भने।

पूर्वप्रधानमन्त्री डा भट्टराईले राजनीतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दाबी गरे।

 

 


प्रतिक्रिया दिनुहोस्