एमाले अनुपस्थित भएपछि सर्वदलीय बैठक निष्कर्षविहीन

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ३५


काठमाडौं । सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन।

बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकताीन्त्रक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद सहजरुपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको बताए।

अध्यक्ष ठाकुरले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निस्कर्षबिहीन भएको बताए।

अध्यक्ष ठाकुरले भने, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निस्कर्षबिहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरु नआएकोले बैठक निस्कर्षबिहीन भएको बताइन्।

उनले सबै समस्याको समाधान संवादबाटै हुने भएकोले एमाले संवादमा आउनुपर्ने र सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताइन्।

उपाध्यक्ष पौडेलले भनिन्, ‘प्रतिपक्षको लिडरहरु नै नआइदिनुभएको हुनाले बास्तविक निस्कर्षमा पुग्न सकिँदैन भन्ने कुरा एउटा निस्कर्ष त्यो थियो, प्रतिपक्षलाई फेरि पनि संवादबाट नै हरेक अफ्ठ्याराहरुलाई निर्णयमा पुर्याउन सकिन्छ, त्यसको लागि प्रतिपक्षलाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउनका निम्ति अनुरोध गरियो, हटलाइनबाटै सभामुखले फोन गर्दा पनि मोबाइल अफ भएर आउन नसक्ने जानकारी आयो र कानून मन्त्रीजीले पनि के स्पष्ट गराउनुभयो भने पूर्व सभामुख मान्य सुवास नेम्वाङजीले भन्नुभयो रे अध्यक्ष जीले आजको बेठकमा उपस्थित नहुने कुरा भन्नुभयो, संवादबाटै निष्कर्षमा पुग्ने हो, यसअघि पनि संसद अवरुद्ध भइरहेको हो, सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न मिल्दैन, त्यसैले प्रतिपक्ष दल संवादमा आएर सदनलाई अनिर्णयको बन्दीबाट बाहिर ल्याउनुपर्छ ।’

उनले बैठकमा सभामुख सापकोटालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरिएको बताइन्।

माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गर्दै आएको छ। भदौ २३, २५ र २७ गतेको संसदमा बिरोध गर्दै नाराजुलुस लगाएपछि सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित हुनु् हुँदैन, प्रतिपक्ष उपस्थित हुनैपर्छ,।


प्रतिक्रिया दिनुहोस्