आफ्नो सहसंस्थापक बरादर मारिएको विषयमा तालिबानको यस्तो प्रतिक्रिया…

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ५८


तालिबानको सहसंस्थापक तथा हाल अफगानिस्तानको उपप्रधानमन्त्री नियुक्त भएका मुल्ला अब्दुल गनी बरादर घाइते भएको अथवा मारिएको खबर झुठो भएको तालिबानले स्पष्ट पारेको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरागर्दै तालिबानका प्रवक्ता सुहैल शाहिनले आफ्ना सहसंस्थापक तथा उपप्रधानमन्त्री मारिएको विषय झुठो भएको बताएका हुन्।

उनले ट्विटरमा भनेका छन्,‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका उपप्रधानमन्त्रीले आफू घाइते भएको या मारिएको दाबीलाई भ्वाइस म्यासेजमार्फत खारेज गर्नुभएको छ। उहाँ एक संघर्षमा मारिएको खबर पुरै झुठो हो।’

यसअघि सरकारमा मन्त्री भागबन्डा गर्दा हक्कानी नेटवर्कका सदस्यले गोली चलाउँदा बरादर घाइते भएको र उनको अवस्था गम्भीर भएको खबर सार्वजनिक भएको थियो।

मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी रिहाइ गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो। सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो।

उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए। सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ। यसअघि उनी देशको राष्ट्रपति बन्ने चर्चा चलेको थियो। तर उनी अन्तरिम सरकारमा उपप्रधानमन्त्री नियुक्त भएका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्