एमसीसी कुनै पनि हालतमा लागू हुन दिदैनौं : विप्लव

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : २३


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एमसीसीका विरुद्ध लड्न युवाहरुलाई आवह्वान गरेका छन।

एमसीसी विरुद्ध आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा विप्लवले राष्ट्रप्रेमीहरु एकजुट भएर लड्नु पर्ने बेला आएको बताए।

विप्लवले भने, ‘नसामा तातो रगत भएका मान्छेहरु लड्नु पर्छ, कायरहरु झुक्ने छन।’

एमसीसी विरुद्ध आज आयोजित विरोध कार्यक्रम झिल्को मात्रै भएको भन्दै उनले भने, ‘आजको दिनमा एमसीसीको विरोधमा देखिएको यो झिल्को मात्रै हो। यदि जर्बजस्त पारित गर्न खोजियो भने यो झिल्को राँको बन्नेछ।’

विप्लवले एमसीसी नीति प्रयोगद्वारा नेपालका भूभागहरु आफ्नो अधिनमा लिने रणनीति अमेरिकाको रहेको दाबी गरे।

एमसीसी सम्झौता नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताविरुद्ध भएको बताउँदै विप्लवले कुनैपनि हालतमा लागू हुन नदिने बताए।

उनले भने ‘एमसीसी नेपालको सार्वभौमिकता र हितका विरुद्ध छ। एमसीसी जनताका विरुद्ध छ। नेपालको कानुनभन्दा माथि रहने सम्झौताले देशलाई अफगानिस्तान र सिरिया बनाउनेछ। जनता सार्वभौम हुने व्यवस्था स्थापना गर्नका लागि जनतालाई व्यवस्थाको फैसला गर्न दिनुपर्छ।’

महासचिव चन्दले अगाडी भने, ‘हामी लड्छौं। कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं। यो कुनै लकाईछिपाईको कुरा छैन। आज पनि हामी भन्छौं–एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ। नेपालको सार्वभौमिकताको विरुद्धमा छ। नेपालको स्वतन्त्रताको विरुद्धमा छ। नेपाली जनताको अधिकारको विरुद्धमा छ। कुनै पनि देशले हाम्रो देशमाथि जब्बरजस्ती सन्धि लाद्न पाउँदैन। एमसीसी आज एउटा बहस छ। यहाँ पढि पनि सक्नु भयो। यहाँ थुप्रै बूँदाहरु छन। हामीले हेर्यौं। के लेखिएको छ भने–एमसीसी सम्झौंता र नेपालको कानुन बाझेको स्थितिमा एमसीसी सम्झौंता माथि हुनेछ। लप्सी फेदीदेखि सुनौलीसम्मको टावरहरुको जमिनमा अमेरिकाको अधिकार हुनेछ। त्यहाँको सेक्यूरिटी अमेरिकाले गर्नुपर्नेछ। यो कुरा उल्लेख छ, त्यहाँ। यो सम्झौंता कसको हितमा गरिदैछ ?अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौंता लागू गरिनेछ।’

विप्लवले नेपाली जनताको अधिकार हनन गर्न खोज्ने हो भने यहाँका मुठीभर शाशकहरु विरुद्ध ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी पनि दिए।

जनताको व्यवस्था स्थापना गर्न आफूले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्