चीनको सम्भावित आक्रमणविरुद्ध तयार हुन ताइवानको पाँच दिने युद्ध अभ्यास!

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : १५


चीनबाट आक्रमण हुनसक्ने भन्दै ताइवानले पाँच दिने ‘वार गेम’ युद्ध अभ्यास सोमबारदेखि सुरुवात गरेको छ। ताइवानले सुरुवात गरेको युद्ध अभ्यास यस वर्षकै महत्वपूर्ण सैन्य गतिविधि हो।

‘हान क्वाङ’ नाम दिइएको यस पाँच दिने युद्ध अभ्यास ताइवानका शीर्ष अधिकारीहरु अमेरिकामा सुरक्षाको विषयमा छलफल गर्न गएको भोलिपल्ट भएको हो।

चिनियाँ जनमुक्ति सेनाबाट आक्रमण भए कसरी त्यसको प्रतिकार गर्ने भनेर युद्ध अभ्यास भइरहेको हो। चिनियाँ पक्षले आक्रमाण गरेको खण्डमा सेनाहरुलाई आफ्नो लडाई क्षमता रक्षा गर्न सिकाइनेछ।

चीनले गर्नसक्ने हवाई आक्रमण, जल तथा थल आक्रमणका साथै बायो–केमिकल आक्रमणविरुद्ध ताइवानले आफ्नो सेना तयार गरिरहेको हो।

पश्चिम ताइवानदेखि जियासान बेससम्मबाट युद्धक विमानहरु उड्नेछन्। यी विमानले चीनको आक्रमणलाई रोक्ने कार्यको अभ्यास गर्नेछन्। एससीएमपीका अनुसार युद्ध अभ्यासमा मिराग–२००, एफ–१६ भी, इ–२के एअरबर्न तथा पी–३सी पनडुब्बीविरुद्धको युद्धक विमान युद्ध अभ्यासमा समावेश हुनेछन्।

जिसान बेस हुवालिनको पहाड मुनी निर्माण गरिएको छ। यहाँ २ सय युद्धक विमान राख्न सकिन्छ। ताइवानका सेनाले राति पनि चीनबाट आक्रमण हुनसक्ने भन्दै युद्ध अभ्यास गर्नेछन्।
बुधबार युद्धक विमानहरुलाई आकस्मिक रुपमा अवतरण गर्न सिकाइनेछ।

चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ। पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ।

तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ। चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

Taiwan to hold war games with computer-simulated Chinese invasion | China News | Al Jazeera

गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको हो। एससीएमपी


प्रतिक्रिया दिनुहोस्