गण्डकी प्रदेशका कान्छा वडाध्यक्ष घले भन्छन्, ‘सबल काशीगाउँ, खुसी काशीगाउँवासी’ बनाउने योजना छ

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ४५


कास्की । उत्तरी गोरखाको धार्चे गाउँपालिका भौगोलिक र भौतिक हिसाबले पिछडिएको गाउँपालिका हो । संघीयता कार्वान्वयनपछि गाउँपालिकामा सातवटा वडा छन् । यस गाउँपालिको वडा नम्बर ६ काशीगाउँका धनकुमार घले गण्डकी प्रदेशकै कान्छो वडाध्यक्षको रूपमा चिनिन्छन् । घले २३ वर्षको उमेरमै स्थानीय निर्वाचनमा वडाको नेतृत्वमा आउन सफल भएका थिए ।

निर्वाचित भएर आएदेखि वडाको विकास निर्माणका काम, सामाजिक रूपान्तरण, काम गर्दाका चुनौती, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन, सम्भावना, आगामी लक्ष्य र झन्डै साढे चार वर्षको उपलब्धि र अनुभवबारे प्रदेशकै कान्छो वडाध्यक्ष घलेसँग न्युज कारखानाकर्मी अश्विन दानीले गरेको कुराकानीको सम्पादित अंश :

२३ वर्षकै उमेरमा चुनावमा उठ्दै गर्दा जितिन्छ जस्तो लाग्याथ्यो ?

२३ वर्षमै वडाध्यक्ष भएर वडाको नेतृत्वमा गर्न अवसर पाएँ, यो मेरो लागि अत्यन्तै सुखद पक्ष हो । म सानैदेखि गाउँमा भएका समस्याहरूका बारेमा बोल्ने, समाधानका लागि सम्बन्धित निकायसम्म आवाज उठाउने, अरुलाई पनि जागृत गर्ने गर्थेँ । सानै उमेरदेखि राजनीतिमा होमिएँ । एमालेले मैले पार्टीका लागि गरेको योगदानको उचित मूल्यांकनसहित विश्वास गर्दै मलाई वडाध्यक्षको टिकट दियो । चुनाव उठेँ, मसँग थुप्रै चुनौती थिए । चुनाव हो हारजित त भइनै हाल्छ । डर भने कत्ति लागेको थिएन । तर, मैले विगतमा आफ्नो गाउँका लागि गरेको काम, मेरो चुनावी घोषणापत्र र मेरो नैतिकतालाई विश्वास गरेर वडावासीले मलाई नेतृत्व समाल्ने अवसर दिनुभयो ।

चुनावमा उठ्दै गर्दा तपाईले देख्नुभएको चुनौती के के थियो ?

काशीगाउँ अलि पिछडिएको ठाउँ हो । यहाँ सडक आइपुगेको थिएन, सडकबाटो नहुँदा अत्यावश्यक खाद्यान्नदेखि अन्य कुरा लिन पनि माछीखोला, आरुघाट, गोरखा बजार जानुपर्ने अवस्था थियो । बिरामीलाई उपचारका लागि बाह्रै महिना घन्टौंसम्म स्ट्रेचरमा बोकेर लैजानुपथ्र्यो । खानेपानीको समस्या थियो । शिक्षा क्षेत्र कमजोर थियो, विद्यालयमा आवश्यकताअनुसार शिक्षक नहुने भएपछि गुणस्तरीय शिक्षा नहुने हुन्थ्यो । केही अन्धविश्वास, जनचेतनाका अभाव पनि थिए । मसँग थुप्रै चुनौती थिए, वडामा समस्याका चाङ थुप्रै थियो । निर्वाचित भएँ भने ती समस्यालाई समाधान गर्नुपर्ने, समाधानका लागि पहल गर्नुपर्ने दायित्व, कर्तव्य आफ्नै काँधमा आउने पक्का थियो । जितिहाले पनि वडामा कति नै बजेट हुन्छ र ? त्यसलाई समाधान गर्न सकिँन भने ? भन्ने पनि लाग्थ्यो ।

निर्वाचित भइसकेपछि कामको थालनी कसरी गर्नुभयो ?

संघीयता कार्वान्वयनपछिको संस्थापक वडाध्यक्ष नै भनौँ भएँ । निर्वाचित भइयो, तर वडा कार्यालय थिएन । कहाँ बसेर काम गर्ने ? हाम्रो अधिकार के के हुुन् ? के गर्न पाउने ? कति गर्न पाउने ? सबै कुुरा अन्योल थियो । कार्यधिकारका कुरादेखि ऐन, नियम कानुन बुझ्नै केही समय लाग्यो । त्यसपछि क्रमशः सिक्दै घोषणापत्र र जनताका माग, आवश्यकता र चाहनालाई प्राथमिकतामा राख्दै काम सुरु गरेँ ।

जुन घोषणापत्र देखाएर नेतृत्वमा आउन सफल हुनुभयो, त्यसलाई कति पूरा गर्नुभयो ?

चुनावमा मैले गरेको घोषणापत्रको एक नम्बरमा गाउँमा मोटरबाटो ल्याउने, स्वरोजगार सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई कम गराउने, गुणस्तरीय शिक्षा ल्याउने, खानेपानीको समस्या हटाउने, स्वास्थ्यलाई गुणस्तरीय बनाउँदै आमनागरिकको पहुँच बढाउने, विद्युतको केन्द्रीय प्रसारण लाइन ल्याउने जस्ता कार्यक्रम थिए । मेरो घोषणापत्र हेरेर तपाई फिल्डमा जानुभयो भने ९५ प्रतिशतभन्दा बढी पूरा भएको देख्न सक्नुहुनेछ । म निर्वाचित भएको १८ महिनाभित्रै गाउँमा मोटरबाटो पुग्यो, बाह्रै महिना नचले पनि बर्खामा बाहेक अन्य समयमा यहाँ गाडी आउजाउ गर्छ ।

वडाका २९ जनाको टिम बनाएर नमुना कृषि फर्म स्थापना गरेँ । अनुदानको व्यवस्था पनि गरेँ । अहिले पनि त्यहाँबाट बाख्रा, कुखुरा, अण्डाको उत्पादन राम्रो भइरहेको छ । पहिले बंगुर पनि पालेका थियौँ, अहिले हावापानी नमिलेपछि पाल्न छोडेका हौँ । स्वरोजगारका लागि मैले गाउँमा विभिन्न सीपमूलक तालिम प्रदान गरिसकेँ । सीप सिकेर काम गर्न चाहनेलाई अनुदानको व्यवस्था गर्ने, अनुदानका लागि पहल गरिदिने गरिरहेको छु । आर्थिक अवस्था कमजोर भएका, जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका, दलित समुदाय, गरिबलाई घरघरमा पुगेर खाद्यान्न सहयोग गर्ने, जीविकोपार्जनका उनीहरूको क्षमता र चाहनाअनुसारको काम गर्न आर्थिक सहयोग गर्ने काम गरिरहेको छु । पहिले यस वडामा लघुजलविद्युत थियो, अहिले केन्द्रीय प्रसारणलाइन विस्तार भइरहेको छ । केही महिनाभित्रै यहाँका नागरिकले केन्द्रीय प्रसारणलाइनको बिजुली बाल्न पाउने छन् । वडा कार्यालयको भवन, बहुउद्देश्यीय भवन बनिसक्यो । वडाका पाँच सय ४६ घरधुरीमा ‘एक घर एक खानेपानी धारा’ निर्माण भइसक्यो ।

अहिले खानेपानीको कुनै समस्या छैन । र्यासामा पहिला प्रावि थियो अहिले निमावि सञ्चालन गरिसक्यौँ । मन्जुश्री माविमा शिक्षकको संख्या कम थियो, अहिले तीनजना थप गरेका छौँ । विद्यालयको भवन बनाउने काम पनि गरेका छौँ । शिक्षालाई क्रमशः गुणस्तरीय बनाउँदै लगेका छौँ । प्राविधिक शिक्षा पढ्न प्रत्येक वर्ष कक्षा १० (एसईई) मा उत्कृष्ट अंक ल्याउनेलाई ‘लेस विस्तारित एसोसिएसनन फ्रान्स’ को आर्थिक सहयोगमा प्रोत्साहनस्वरूप ३५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेका छौँ ।

स्वास्थ्य संस्थामा आवश्यक औषधिको अभाव हुन दिएका छैनौँ । प्रसूतिगृह सञ्चालनमा ल्याइसक्यौँ । क्रमशः क्षमता वृद्धि गर्ने प्लानिङमा छौँ । कृषितर्फ हामीले युवाहरूको समूह बनाएर आलु, अदुवा, बेसार पकेट क्षेत्र स्थापना गरेका छौँ । प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा पकेट क्षेत्र स्थापना गरेर उत्पादन गरिरहेका छौँ । पकेट क्षेत्रलाई विकास गर्दै विस्तारै सुपर जोन बनाउने गरी काम गरिरहेका छौँ । पर्यटनतर्फ रक क्लाइम्बिङको सम्भावना हेरिरहेका छौँ, गणेश हिमाल जाने पदमार्ग बनाउन गोरेटो बाटो पनि खनिसक्यौँ । टे«किङ ट्रायलको रूपमा स्थापना गर्ने सोच छ, तर त्यो हामीले मात्रै चाहेर स्रोतसाधन पुर्याउन सम्भावना छैन, स्रोत जुटाउने प्रयासमा छु ।

तपाई आफूलाई कस्तो खालको जनप्रतिनिधिको रूपमा पाउनुहुन्छ ?

जीवनमा आफ्नो कामको मूल्यांकन आफैले गर्नु भनेको अत्यन्तै कठिन काम हो । तर, सामाजिक क्षेत्रमा काम गरिसकेपछि यो गर्नु अत्यावश्यक पनि छ ।
तर, मैले म सफल हो, या असफल हो भनेर भन्दिनँ । यो भनिराख्नु जरुरी पनि छैन् । किनभने, मैले मेरो योजना, जनताको आवश्यकता, माग र चाहनालाई केन्द्रबिन्दुमा राखेर काम गरेँ । एउटा जिम्मेवार नागरिकको हिसाबले मेरो काम, कर्तव्य र जिम्मेवारीलाई दत्तचित्त भएर पूरा गर्ने कुरामा कुनै कसुर बाँकी राखेको छु जस्तो लाग्दैन । त्यसैले मेरो मूल्यांकन वडावासीले गरिराख्नुभएको छ ।

आगामी दिनमा योजना कस्ता छन् ?

वडाभित्र गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरी गरिबी न्यूनीकरण गर्नु प्रमुख लक्ष्य रहनेछ । त्यस सँगसँगै यहाँका हरेक समस्यालाई समाधान गर्ने, आमनागरिकको आवश्यकता र चाहनालाई परापूर्ति गर्ने अनि ‘सवल काशीगाउँ खुसी काशीगाउँवासी’ बनाउने थुप्रै योजना छन् । त्यसका लागि निरन्तर लागिरहनेछु ।


प्रतिक्रिया दिनुहोस्