त्रिकोणात्मक सिरिज आजबाट, नेपालले अमेरिकाको सामना गर्दै

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ०४


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। ओमानमा हुने सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्नेछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ। तर, बलियो प्रतिद्वन्दीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो। जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ । अमेरिका भने नेपालविरुद्ध बदलाको योजनामा हुनेछ ।

सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो। अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १ सय ५५ रनमा समेटिएको थियो।

उक्त सिरिजमा नेपाल ओमानसँगको दुबै खेलमा पराजित भएको थियो। ओमानसँग नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो। नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। उक्त सिरिज नेपालले २–० ले आफ्नो नाम गरेको थियो ।

त्यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दा आफ्नो अन्तिम खेलमा नेपालले ओमानसँग आइतबार खेल्नेछ।

यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्