एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ५५


काडमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन।

नेकपा एकीकृत समाजवादीका जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मतरूपमा चयन गरेको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले जानकारी दिए।

सदस्य हुमागाईँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो दलको तर्फबाट समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको बताए।

“हामीले मुख्यमन्त्री कार्यालयलगायतलाई पनि आफ्नो दल अलग्गिएको र निर्वाचन आयोगले दललाई मान्यता दिएको जानकारी गराएका छौँ”, उनले भने।

उनले अब गठबन्धनसँग छलफल गरेर मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरिने जानकारी दिए।

“भोलि हाम्रो गठबन्धनको बैठक बस्छ र प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा छलफल हुन्छ” उनले भने। रासस


प्रतिक्रिया दिनुहोस्