नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ३७


काठमाडौं । बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललाई गोल रहित बराबरीमा रोकेको हो।

पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो।

नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो।

गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन।

नेपालका अधिकांश प्रयासलाई बंगलादेशको डिफेन्सलाईनले विफल पारेको थियो।

सुरुआत आक्रामक गरेका दुबै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न चुकेका थिए। पानी परेपछि केही चिप्लो भएको मैदानमा दुबै टोलीका बल नियन्त्रणमा केही असहज भएको थियो।

यद्यपि सम्हालिएको प्रदर्शन गरेका दुबै टोलीले गोलका लागि केही राम्रा अवसर भने बुनेका थिए। दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो।

बंगलादेशविरुद्ध नेपालले खेलेका कुल नौं अन्तराष्ट्रिय खेल मध्येबाट यो दोस्रो बराबरी नतिजा हो।

बाँकी सबै सात खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको थियो। प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नवौं मिनेटमा अमृता जैशीको प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले मुश्किलले नियन्त्रणमा लिएर विफल पारेकी थिइन्।

३० औं मिनेटमा बंगलादेशकी श्रीमोती सरकारले प्रहार गरेको बल क्रस बारको माथि लागेर बाहिरिएको थियो।

यस्तै खेलको ६७ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्रिकिक नेपालकी गोलकिपर अन्जनाले सहजै नियन्त्रणमा लिन सफल भएकी थिइन्।

त्यसपछिको बाँकी समयमा दुबै टोलीले गोलका लागि राम्रा अवसर बनाए पनि सदुपयोग गर्न चुके। खेलमा नेपालकी गीता राना मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुँदै छ। छनोट खेलमा नेपाल समूह एफमा रहेको छ।

नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। समूहको शीर्ष टोली भारतमा हुने प्रतियोगिताका लागि छनोट हुनेछ।


प्रतिक्रिया दिनुहोस्