एमसीसी विरुद्ध भोलि विप्लव समूहको शक्ति प्रर्दशन, यी ठाँउबाट निस्कने छ जुलुस

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : २५


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीले भोलि (सोमबार) उपत्यकामा जनप्रदर्शन गर्ने भएको छ।

सरकारले पार्टीमाथिको प्रतिबन्ध हटाएर ३ बुँदे सहमति गरेको लामो समयपछि विप्लव नेकपाले काठमाडौंमा पहिलो पटक शक्ति प्रदर्शन गर्न लागेको हो।

अमेरिकी परियोजना एमसीसीविरुद्ध हुने सो प्रदर्शन वृहत हुने सो पार्टीले जनाएको छ। सो सभालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने छन।

खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका नेता माइला लामाले जानकारी दिए।

भोलि बिहान साँढे ११ बजेदेखि काठमाडौँको त्रिपुरेश्वर, बबरमहल र लैनचौरबाट र्यालीहरु सुरु हुने, मूल जुलुस सुन्धाराबाट हुने उक्त ठाउँबाट महासचिव विप्लव जोडिने र जुलुस खुल्ला मञ्चमा प्रवेश गरी १२ बजेदेखि जनसभा सुरु हुने आयोजकले जनाएको छ।

विप्लव नेतृत्वको नेकपाले आयोजना गर्ने सो सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपि गजुरेल, नेकपा मालेमा महासचिव सिपि मैनाली, बैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेपालका लागी नेपालीका संयोजक डा.सुरेन्द्र भण्डारी लगायतले सम्बोधन गर्ने छन।


प्रतिक्रिया दिनुहोस्