नेपालकै आग्रहमा एमसीसी सम्झौता, जति चाँडो अनुमोदन त्यति फाइदा: सुमार

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ०३


काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले एमसीसी नेपालकै आग्रहमा आएको बताएकी छन।

हाल नेपाल भ्रमणमा रहेकी उनले शिर्ष नेताहरुसँगको भेटघाटपछि आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले अनुमोदन नगर्दासम्म कार्यान्वयनमा नआउने बताइन्।

यो सम्झौता भएपछि नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उनले उल्लेख गरिन्।

पत्रकारहरुसँग उनले भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ।’

उपाध्यक्ष सुमारले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको पनि बताइन्।

नेपालको संसदले चाँडो निकास दिनुपर्नेमा उनको जोड थियो।

उपाध्यक्ष फतिमाले एमसीसी अनुदान सम्झौताबारे नेपालमा विभिन्न भ्रम फैलाइएको भन्दै यसलाई राजनीतिक स्वार्थ प्राप्तिको माध्यम नबनाउन अनुरोध गरिन।

एमसीसी कम्प्याक्टका बारेमा नेपालले राखेका प्रश्नको जवाफ आफूहरूले पठाएको र त्यसबारे नेपाली नेतृत्वका थप जिज्ञासाहरू आफ्नो भ्रमणका क्रममा सम्बोधन गर्ने प्रयास गरेको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘कम्प्याक्टमा हस्ताक्षर भएको चार वर्ष भइसकेको छ। अब यसलाई अनुमोदन गर्ने बेला भयो। मलाई थाह छ धेरै बयानबाजी भइरहेका छन् र मिथ्या सूचनाहरू पनि फैलिएका छन्। यो दुर्भाग्यपूर्ण हो।’


प्रतिक्रिया दिनुहोस्