संखुवासभामा ६ जनाको हत्या गर्ने व्यक्ति भन्छन्ः एक जना मात्र मार्न खोजेको थिए

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १२ : १२


सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न व्यक्ति गिरफ्तार भएका छन्। यसअघि हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका आरोपीले नै आफ्नो अपराध स्वीकार गरेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्ने लोकबहादुर कार्कीले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेका हुन्। उनी हत्या गरिएका कार्की परिवारकै भतिजा पर्ने आफन्त हुन्। गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो।

उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो।

घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो। सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय लोकबहादुर कार्कीलाई पक्राउ गरेपछि उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।

कार्की परिवारको भतिजा पर्ने उनले व्यक्तिगत रिसिबीका कारण हत्या गरेको प्रहरीसँग कबुल गरेका हुन्। उनको घर कार्की परिवारको घरको सबैभन्दा नजिक रहेको डीआईजी अरुणकुमार बिसीले जानकारी दिए।

हत्याराको बयान
संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए। त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए।

तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले बयान दिएका छन्।

कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्