प्रधानसेनापति शर्माको पहिलो सम्बोधन: घर बनाउन सैनिकलाई २५ लाख सहुलियत कर्जा

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : ०५


काठमाडौं । प्रधानसेनापतिमा नियुक्त भएपछि प्रभुराम शर्माले शुक्रबार पहिलो पटक सम्बोधन गरेका छन।

कार्यकाल सुरु गरेको भोलिपल्ट शुक्रबार सकलदर्जाका नाममा सम्बोधन गर्दै समयसापेक्ष, रूपान्तरित सक्षम, गतिशील र प्रभावकारी संगठन विकास गर्ने वचनबद्धता व्यक्त गरेका छन्।

शर्माले बिहीबारदेखि औपचारिक रूपमा सेनाको नेतृत्व सम्हालेका थिए। सैनिक परम्पराअनुसार उनले सबैलाई सम्बोधन गर्दै ‘कमान्ड नीति तथा मार्गनिर्देशन– २०७८’समेत जारी गरेका छन्।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखेर प्रधानसेनापतिले मार्गनिर्देशन जारी गरेका हुन्।

उनले सैनिक अनुशासन, पदीय मर्यादा र आचरण उल्लंघन गर्दै सेनाको तेजोबोध हुने खालको गतिविधि नगर्न सबै सकलदर्जालाई निर्देशनसमेत दिएका छन्।

‘कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउनेजस्ता अवाञ्छित गतिविधि किमार्थः क्षम्य हुने छैनन्,’ प्रधानसेनापतिले भने।

यस्तै प्रधानसेनापति शर्माले नेपाली सेनामा १० बर्ष सेवा गरेका सैनिकलाई घर बनाउन सहुलियतकर्जा उपलब्ध गराउने घोषणा पनि गरेका छन।

सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने आफ्नो चाहना रहेको बताउँदै उनले जंगी अड्डामा आयोजित कार्यक्रममा भने– ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ।’


प्रतिक्रिया दिनुहोस्