राष्ट्रसंघमा अफगानिस्ताकै प्रतिनिधि भन्छन्ः तालिबानलाई मान्यता नदिऔं

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ६ : ०९


संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत गुलाम इसाकजईले अफगानिस्तान कब्जा गर्ने तालिबानलाई सरकारको रुपमा मान्यता नदिन माग गरेका छन्। हाल तालिबानले अफगानिस्तानमा सरकार गठन गरिसकेको छ।

यसबीचमा अफगानिस्तानको पूर्व सरकारको प्रतिनिधित्व गर्ने राजदूत इसाकजईले सुरक्षा परिषदको बैठकमा तालिबानलाई मान्यता दिन नहुने बताएका हुन्।

भारत दिल्लीस्थित अफगानी दूतावासले पनि हालै वर्तमान तालिबान सरकारलाई मान्यता दिन नहुने बताएको थियो। इसाकजईले तालिबानको अन्तरिम सरकारमा सहभागी मन्त्रीहरुलाई पनि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

हाल तालिबानले नियुक्त गरेको प्रधानमन्त्री र गृहमन्त्री आतंकवादीको सूचीमा नाम भएका मानिसहरु हुन्।

बिहीबार सुरक्षा परिषदको बैठकमा उनले भनेका छन्,‘अफगानस्तानका नागरिकहरु उनीहरुमाथि लादिएको अधिनायकवादी प्रणाली स्वीकार गर्दैनन्। त्यसैले जबसम्म जनताको स्वतन्त्र इच्छाको आधारमा साँचो समावेशी सरकार गठन हुँदैन तबसम्म म तपाइँहरुलाई तालिबान सरकारलाई मान्यता नदिन आग्रह गर्दछु।’

हालै महिलाहरुलाई पनि तालिबान सरकारमा सहभागी गराउनुपर्ने आवाज उठेको थियो। तर तालिबानका एक प्रवक्ताले महिलाहरुले बच्चा जन्माएर उनीहरुलाई मुस्लिम धर्मको मूल्य मान्यता सिकाउनुपर्ने र मन्त्री बन्ने इच्छा त्याग्नुपर्ने बताएका थिए। बीबीसी

यो पनिः आतंकवादीको सूचीमा नाम भएकाहरु प्रधानमन्त्री र गृहमन्त्री भएपछि अमेरिका चिन्तामा

-तालिबानको विपक्षमा दिल्लीस्थित अफगान दूतावास, भन्योः नयाँ सरकार अवैधानिक
-तालिबानको विवादस्पद अभिव्यक्ति, भन्योः महिलाले बच्चा जन्माउने हो मन्त्री बन्ने होइन


प्रतिक्रिया दिनुहोस्