फोर्डले भारतमा कार उत्पादन नगर्ने

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : ५४


अमेरिकी कार कम्पनी फोर्डले भारतमा कार उत्पादन गर्न बन्द गर्ने जनाएको छ। बीबीसीका अनुसार एउटा विज्ञप्ति जारी गर्दै उक्त कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने बताएको हो।

सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीको भनाइ छ।

केही वर्षयता भारतबाट बाहिरिने ठूला कार उत्पादकमध्ये फोर्ड पनि परेको छ। सन् २०१७ मा जेनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो।

गत वर्ष विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजारमा हार्ली डेभिडसनले उत्पादन र विक्रीमा व्यापक कटौती गरेको थियो। विदेशी उत्पादकहरूलाई भारतीय बजारमा आकर्षित गर्ने वा कायमै राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई यी घटनाहरूले धक्का दिएको छ।

फोर्डका अनुसार पछिल्लो दशकमा भारतमा उसको सञ्चालन घाटा बढेर दुई अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ र नयाँ गाडीहरूको माग पनि घटेको छ।

भारतमा कारका पाँचवटा मोडल उत्पादन गर्दै आएको उक्त कम्पनीले आफ्ना ग्राहकका लागि गाडीको मर्मत सेवा, पार्टपुर्जा र वारेन्टीसम्बन्धी सहायता भने जारी नै राख्ने जनाएको छ। विगत २५ वर्षदेखि भारतमा कार उत्पादन गर्दै आएको भए पनि फोर्डले बजार प्रतिस्पर्धाका लागि भने सङ्घर्ष गर्नुपरेको थियो।


प्रतिक्रिया दिनुहोस्