तालिबान संस्थापक उमरको अन्तर्वार्ता लिने र बिन लादेन भेट्ने पत्रकारको निधन

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ११ : २३


पाकिस्तानका वरिष्ठ पत्रकार रहिमुल्लाह युसुफजाईको बिहीबार निधन भएको छ। लामो समय गम्भीर रोगबाट ग्रस्त उनको पेशावरमा उपचारको क्रममा निधन भएको बीबीसीले जनाएको छ।

छोरा अरशदले बिहीबार ट्विटरमा पिता रहिमुल्लाह युसुफजाईको निधनको पुष्टि गरेका छन्। अरशदले भनेका छन्,‘मेरा पिता रहिमुल्लाह युसुफजाईको क्यान्सरसँग लड्दा लड्दै निधन भयो। उहाँको अन्तिम संस्कार शुक्रबार मर्दान जिल्लाको इजारगई गाउँमा हुनेछ।’

रहिमुल्लाह पेशावर ‘द न्युज’का सम्पादक थिए। उनी अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त पत्रिकाहरुमा पनि लेख लेख्थे। उनले लामो समय बीबीसी उर्दू र बीबीसी पश्तोमा आवद्ध भएर काम गरेका थिए।

उनी एकमात्र त्यस्ता पत्रकार हुन् जसले तालिबानका सर्वोच्च नेता तथा संस्थापक मुल्ला मोहम्मद उमरसँग अन्तर्वार्ता गरेका थिए। उनले अल–कायदाका संस्थापक ओसामा बिन लादेनसँग पनि भेटघाट गरेका थिए।


प्रतिक्रिया दिनुहोस्