दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई ६ अंकको अग्रता

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : २६


काठमाडौं । स्टार खेलाडी नेयमार र एभर्टन रिबेइरोको गोलमा ब्राजिलले दक्षिण अमेरिकी छनोटमा लगातार ८औँ जित निकालेको छ । शुक्रबार बिहान घरेलु मैदानमा ब्राजिलले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा नेयमार र एभर्टन रिबेईरोले १/१ गोल गरे । नेयमारले अर्को गोलको लागि पास उपलब्ध गराएका थिए ।

घरेलु मैदानमा दुबै गोल पहिलो हाफमा भएका थिए । एभर्टनले खेलको १४औँ मिनेटमा नेयमारको पास सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४०औँ मिनेटमा नेयमारले ब्राजिललाई दोहोरो अग्रता दिलाए । बाँकी समय दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले ८ खेलमा शतप्रतिशत जित निकाल्दै २४ अंक जोडेको छ । ब्राजिल खेल तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिना ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्