संखुवासभा सामूहिक हत्याको ४ दिन बित्दा पनि प्रहरीले अझै पाएन ‘क्लू’

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ८ : ४४


संखुवासभा। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरण रहस्यमयी बन्दै गएको छ।

घटना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन।

हत्या प्रकरण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन्।

घटनाको थप अनुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको थप अध्ययनका लागि बिसीलाई घटनास्थल पुगेको बताए।

प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए।

अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए।

अहिलेसम्म हत्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि अनुसन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ।

हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी, प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन्।

अनुसन्धानका क्रममा मृतकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घटनास्थल आइपुगेको हो।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।


प्रतिक्रिया दिनुहोस्