विश्वको एउटा मात्र सक्रिय स्पेस स्टेसन बिग्रिन थाल्यो, धुवाँ र प्लास्टिक जलेको गन्ध फैलियो

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ५ : ५१


अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा धुवाँ र प्लास्टिक जलेको गन्ध फैलिएपछि चेतावनीस्वरूप अलार्महरू बजेका छन्। रुसले निर्माण गरेको आईएएसको ज्वेज्दा मोड्यूलमा उक्त घटना भएको विवरण रुसी सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

उक्त खण्डमा अन्तरिक्षयात्रीहरू बस्ने ठाउँ छ। पुरानो हुँदै गएको अन्तरिक्ष केन्द्रमा केही वर्षदेखि विभिन्न समस्याहरू उत्पन्न हुँदै आएका छन्। एक रुसी अधिकारीले केही दिनअघि आईएसएसका पार्टपुर्जा थोत्रिएका र त्यसका प्रणालीहरू प्रणाली विफल हुन लागेको चेतावनी दिएका थिए।

आईएसएसमा हावा छिर्ने, इन्जिन आफैँ सक्रिय हुने र चिरा पर्ने समस्या देखा परेका थिए। रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले पछि आईएसएसको प्रणाली पूर्ववत् सामान्य स्थितिमा फर्किएको जनाएको थियो।

अन्तरिक्ष केन्द्रका ब्याटरीहरू रिचार्ज गर्ने क्रममा धुवाँ देखिएको रुसी अन्तरिक्ष निकायले जनाएको छ। अहिले आईएसएसमा दुई रुसी, तीन अमेरिकी, एक फ्रान्सेली र एक जापानी गरी कुल आठ अन्तरिक्षयात्री छन्। जलेको प्लास्टिकको गन्ध रुसी खण्डबाट अमेरिकी खण्डसम्म पुगेको बताइन्छ।

गत सेप्टेम्बर १ मा रुसी अधिकारी भ्लादिमिर सोलोभ्योभले पुराना उपकरण र पार्टपुर्जाका कारण आईएसएस कामै नलाग्नेगरी बिग्रिन सक्ने चेतावनी दिएका थिए। रुसी खण्डमा भएको उडानसँग सम्बन्धित प्रणालीको ८० प्रतिशत भागको मिति गुज्रिसकेको एनर्जिया स्पेस कम्पनीका प्रमुख इन्जिनियर सोलोभ्योभले सरकारी सञ्चारमाध्यमलाई बताए।

उक्त कम्पनीले रुसका लागि आईएसएसका खण्डहरू निर्माण गरेको थियो। उनका अनुसार रुसको मालवाहक जार्या भागमा चिरा पर्न थालेको छ र समयक्रममा त्यसले विकराल रूप लिन सक्छ। सन् १९९८ मा रुस, अमेरिका, क्यानडा, जापान र केही युरोपेली देशहरूको संलग्नतामा आईएसएस निर्माण गरिएको थियो। त्यतिबेला यो १५ वर्ष टिक्ने बताइएको थियो।

गत एप्रिलमा रुसका उपप्रधानमन्त्री युरी बोरिसोभले सरकारी टीभीलाई आईएसएसका पाताहरू खिइएकाले दुर्घटना हुनसक्ने बताउँदै त्यस्तो हुन दिन नहुने बताएका थिए।

यो पनिः अन्तरिक्षमा महाशक्ति बन्ने होडमा चीन, आफैंले बनाएको स्पेस स्टेसनमा दोस्रो स्पेस वाक पुरा


प्रतिक्रिया दिनुहोस्