१३० जनाको ज्यान जाने गरी भएको पेरिस हमला मुद्दाको सुनुवाइ शुरू

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १२ : ०३


काठमाडौं (बीबीसी) । सन् २०१५ मा १३० जनाको ज्यान जाने गरी गरिएको पेरिस हमलासम्बन्धी मुद्दामाथि फ्रान्समा एउटा ऐतिहासिक सुनुवाइ शुरू भएको छ। इस्लामिक स्टेट (आईएस) समूहले गराएको हमला फ्रान्समा द्वितीय विश्वयुद्धयताकै सबैभन्दा नराम्रो भएको बताइन्छ।

आईएसका आक्रमणकारीहरूले पेरिसमा गोली चलाउनुका साथै बम विस्फोट गराएका थिए। घटनामा बाँचेका एक मात्र आक्रमणकारी सलाह अब्देलसलाम अन्य १३ जना प्रतिवादीसहित सोही मुद्दाको सुनुवाइका लागि बनाइएको विशेष अदालत कक्षमा उपस्थित भएका छन्।

सुनुवाइका क्रममा अब्देलसलामले आफू त्यति बेला आईएस समूहको एक लडाकु भएको अदालत समक्ष बयान दिए। यो मुद्दाको सुनुवाइलाई आधुनिक फ्रान्सेली इतिहासकै सबैभन्दा ठूलो भनिएको छ। आगामी नौ महिनाको अवधिमा १४० दिन सुनुवाइ हुनेछ जसमा ३३० जना वकिल र घटनामा बाँच्न सफल १,८०० व्यक्ति एवम्‌ पीडितका आफन्त सहभागी हुनेछन्।

घटनाको बेलाका फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलान्दसहित करिब तीन सयजना प्रत्यक्षदर्शीको बयान पनि लिइनेछ। सुनुवाइ शुरू हुनुअघि फ्रान्सेली सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्वराष्ट्रपति ओलान्दले आक्रमणका पीडितहरूका निम्ति यो महत्त्वपूर्ण क्षण भएको बताए।

सन् २०१५ को नोभेम्बरमा आईएसले बाटाक्लाँ कन्सर्ट हल, एउटा महत्त्वपूर्ण रङ्गशाला, रेष्टुराँ तथा बारहरूमा आक्रमण गरेको स्वीकारेको थियो। कडा सुरक्षाबीच प्रहरीको गाडीमा सन्दिग्धहरूलाई बुधवार बिहान अदालत कक्षमा पुर्‍याइएको थियो। मुद्दाको सुनुवाइ शुरू हुनुअगाडि उनीहरू प्रतिवादी बस्ने स्थानमा मास्क लगाएर बसेका थिए।

सन् २०१६ मा बेल्जियममा पक्राउ गरिएयता अब्देलसलाम जेलमा छन्। अन्य १३ जना प्रतिवादीमा हमलाका लागि आर्थिक सहयोग गरेको तथा आक्रमणको योजना बुनेको लगायत आरोप लागेका व्यक्ति रहेका छन्।


प्रतिक्रिया दिनुहोस्