फिलिपिन्सका राष्ट्रपति डुटेर्ते उपराष्ट्रपति पदको उम्मेदवार हुन राजी

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १० : ५०


फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन आफ्नो दलको मनोनयन स्वीकार गरेका छन्।

फिलिपिन्सको संविधानले राष्ट्रपतिलाई दोस्रो कार्यकाल काम गर्न अनुमति दिँदैन। त्यसकारण आगामी निर्वाचनमा डुटेर्ते उपराष्ट्रपतिमा उठ्न राजी भएका हुन्।

तर शक्तिमा बसिरहने उद्देश्यसहित उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन्। डुटेर्टेले भने आफू देशको मायाबाट प्रेरित भएको दाबी गरेका छन्।

बीबीसी संवाददाता सेलिया ह्याटनका अनुसार उपराष्ट्रपति बनेर आफूले नै सत्ता चलाउन डुटेर्टले राष्ट्रपति पदका लागि कमजोर पात्र खोजेको कतिपयको आशङ्का छ।

रोड्रिगो डुटेर्टेले उनी निकट सिनेटर क्रिस्टोफर बोङु गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन आग्रह गरेका थिए।

तर बुधवार पार्टीले गरेको प्रस्ताव आफ्नो मन र मस्तिष्क जनताको सेवामा केन्द्रित रहेको भन्दै उनले अस्वीकार गरे।

गोले आफ्नो निर्णय पुनर्विचार गरून् भन्ने पार्टीले चाहेको भए पनि डुटेर्तेकी छोरीले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्ने सङ्केत देखिएको छ।

यसै वर्ष भएका सबैजसो मत सर्वेक्षणमा अग्रस्थानमा देखिएकी सारा डुटेर्ते कार्पियोले उम्मेदवारी दिने विषयमा मिश्रित सङ्केतहरू देखाएकी छन्।

डुटेर्टे सन् २०१६ मा निर्वाचन जितेर राष्ट्रपति बनेका थिए। उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर आलोचकहरूले डुटेर्तेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको बताउने गरेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्