अमेरिका भन्छः तालिबान सरकारमा सम्मानित व्यक्ति छैनन्, मान्यता दिन हतार छैन

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  १० : २९


अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबार अमेरिका तालिबान सरकारलाई मान्यता दिने हतारमा नभएको बताएको छ।

अफगानिस्तानबाट बाँकी रहेका अमेरिकी नागरिक उद्धार गर्ने विषयमा तालिबानसँग छलफल जारी रहेको बताए पनि अमेरिकाले चाँडै हतारमा तालिबान नेतृत्वको सरकारलाई मान्यता नदिने उल्लेख गरेको हो।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले पत्रकार सम्मेलनमा भनेकी छिन्,‘तालिबान वैश्विक समुदायको सम्मानित र मूल्यवान सदस्य हो भनेर अमेरिकी सरकार, यहाँका राष्ट्रपति अथवा राष्ट्रिय सुरक्षा टोली कसैले मान्दैनन्। उनीहरुले सम्मानित दर्जा हासिल गरिसकेका छैनन् र हामीले यस्तो अनुमान गरेका छैनौं। यो एक कार्यवाहक मन्त्रिमण्डल हो जहाँ तालिबानका लडाकु सामिल छन्।’

‘हामीले तालिबानको नयाँ सरकारलाई मान्यता दिन्छौ भनेका छैनौं र मान्यता दिन हतार पनि छैन। उनीहरुले मान्यता पाउन धेरै कुराहरु गर्न जरुरी छ। अहिले चाहीँ अमेरिकी नागरिक उद्धार गर्ने विषयमा छलफल चलिरहेको छ किनभने अफगानिस्तान उनीहरुको नियन्त्रणमा छ’ साकीले भनेकी छिन्।

‘उनीहरुको कार्यवाहक गृहमन्त्ती हक्कानी नेटवर्कका आतंकवादी हुन्। अमेरिकीसहित ६ जनाको हत्या मामिलामा उनको खोजी भइरहेको छ। उनी अमेरिकाविरद्ध सीमा पारीबाट हुने आक्रमणमा आवद्ध थिए। उनको टाउकोको मूल्य अमेरिकाले १० मिलियन डलर तोकेको छ। हामी उनीहरुसँग किन छलफल गरिरहेका छौं’ साकी भन्छिन्,‘अमेरिकाले त्यहाँबाट नागरिक निस्कन दिन्छ कि दिँदैन भनेर निगरानी गरिरहेको छ। उनीहरुले आफ्नो दाबीअनुसार महिलालाई व्यवहार गर्छन् कि गर्दैनन्। त्यसैले हामी मान्यता दिन हतार गर्दैनौं।’ बीबीसी

यो पनिः आतंकवादीको सूचीमा नाम भएकाहरु प्रधानमन्त्री र गृहमन्त्री भएपछि अमेरिका चिन्तामा


प्रतिक्रिया दिनुहोस्