पञ्चेश्वरका युवाले उद्यम गर्न धितो र व्याज बिनै १५ लाख ऋण पाउने

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ३८


बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका युवाले उद्यमी बन्नका लागी बिना धितो, बिना व्याज सहुलियत कर्जा पाउने भएका छन्।

नेपाल सरकारको कार्यक्रम अनुसार १६ देखि ४० वर्षसम्मका युवालाई सहुलियत कर्जा दिइने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

पालिकाभित्र रहेका युवाका हकमा उमेर तोकिए पनि विदेशबाट फर्केकाको हकमा भने उमेर नहेरिने उनले बताए।

‘नेपाल सरकारको कार्यक्रमअन्तरगत यस वर्ष हाम्रो पालिकाका करिव १ सय ५० जनालाई तालिम दिई उद्यमी बनाउने र उनीहरूलाई व्यवसाय गर्न कम्तिमा ५ लाख र बढीमा १५ लाख ऋण दिइने छ।

यसका लागी राष्ट्रिय युवा परिषद, पञ्चेश्वर गाउँपालिका र नबिल बैंकबीच त्रिपक्षीय सहमति भएको हो,’ उनले भने।

कार्यक्रम सञ्चालनका लागि गाउँपालिका अध्यक्ष चन्द, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र नबिल बैंकका दिगो बैंक प्रबन्धक लिलाप्रसाद ओझाले मंगलबार त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रमअन्तरगत महिला, दलित, विदेशबाट फर्केका व्यक्तिलाई प्राथमिकतामा राखिने बताइएको छ।

राष्ट्रिय युवा परिषद्ले सात दिनको तालिम दिने, तालिमको खर्च गाउँपालिकाले व्यहोर्ने तथा नबिल बैंकले ५ देखी १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य गोबिन्द गिरीले बताए । कृषि तथा पशुपालन, साना तथा घरेलु उद्योगहरू, अटोमोबाइल्स, गाडि मर्मतलगायतका व्यवसायहरू र परम्परागत पेसा प्रर्वधनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

गाउँपालिकाले अवको एक हप्ताभित्र तालिमका लागि दरखास्त आह्वान गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्