आतंकवादीको सूचीमा नाम भएकाहरु प्रधानमन्त्री र गृहमन्त्री भएपछि अमेरिका चिन्तामा

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ३८


अफगानिस्तानमा बनेको तालिबानको नयाँ सरकारमा अमेरिकी फौजमाथि भएका आक्रमणसँग सम्बन्धित व्यक्तिहरू समावेश भएको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलवारको तालिबानको सरकार घोषणालाई अध्ययन गरिरहेको जनाएको छ।

तालिबानका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने सराजुद्दिन हक्कानी गृहमन्त्री हुनेछन्।। मुल्लाह मोहम्मद संयुक्त राष्ट्रसङ्घको आतंकवादीको कालोसूचीमा रहेका व्यक्ति हुन् जो प्रधानमन्त्री बन्न लागेका छन्।

यस्तै अमेरिकी एफबीआईको आतंकवादीको सूचीमा भएका सराजुद्दिन हक्कानी सञ्जालका प्रमुख हुन्। अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको छ। यी दुवै अमेरिका फौजविरुद्धको आक्रमणमा सक्रिय रुपमा सहभागी व्यक्ति हुन्।

अमेरिकी विरोधी र आतंकवादीको सूचीमा रहेका व्यक्तिहरुले अफगानिस्तानको महत्वपूर्ण पद पाएपछि अमेरिकी सांसदहरुले तालिबानको आलोचना गरेका छन्। विपक्षी रिपब्लिकन पार्टीका सांसद लिन्ड्से ग्राहमले नयाँ तालिबानको नयाँ सरकारलाई ‘ठग र कसाईहरूको समूह’ भनेका छन्।

यस्तै अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनिएको छ,‘घोषणा गरिएका नामहरू तालिबानका सदस्य वा तिनको नजिकका सहयोगी भएका र महिला नभएको हामीले देखेका छौँ। हामी केही व्यक्तिको इतिहास र संलग्नताका कारण चिन्तित छौँ।’ बीबीसी


प्रतिक्रिया दिनुहोस्