‘एमसीसी संशोधनको कुरा जनता झुक्याउने खेल हो’

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : १७


इलाम । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको तस्तै पास गर्न नहुने र त्यसलाई नेपालको हित अनुकूल बनाउन संशोधनको चर्चा चलिरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने संशोधनको कुरा जनता झुक्याउने खेल भएको बताएको छ।

एमसीसीको विरोधमा बुधबार इलामको चोक बजारमा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिव मौसम राईले जनता झुक्याउनकै लागि संशोधनको चर्चा गरिएको बताए।

‘एमसीसी इण्डो प्यासेफिक रणनीतिको एउटा पार्ट हो’, उनले भने,‘यो कुनै पनि हालतमा नेपालको हित अनुकूल हुनै सक्दैन, नेपालको असंलग्न परराष्ट्र नीतिको पनि प्रतिकूल छ।’

एमसीसी पास भएमा नेपाल विदेशी विस्तारवादी शक्रिको क्रिडास्थल बन्ने राईको तर्क छ।

संसदको बुधबारदेखि शुरु भएको अधिवेशनमा एमसीसी पारित गर्ने खेल भइरहेको भन्दै बलिदान गरेर भए पनि एमसीसी पारित हुन नदिने नेताहरु बताउँछन्।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भूमि ढङ्गानाले कमिसनको खेलमा जस्केलाबाट एमसीसी पारित गराउने षडयन्त्र भइरहेको आरोप लगाए।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पाटी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाले एमसीसीको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएको छ।

जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्ने, एमसीसीको डकुमेन्ट जलाउने, सिठी जुलुसलगायतका विरोध कार्यक्रम छन्।


प्रतिक्रिया दिनुहोस्