सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ०८


काठमाडौं । सिंहदरवारमा सुरु भएको सत्ता गठवन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन्।

बैठकमा सहभागी हुन सिंहदरवार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिले बैठकस्थलमा छन्।

एमालेले आफ्नो पार्टीबाट हटाएका १४ सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक सिंहदरवारमा सुरु भएको हो।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको ती नेताले बताए।

बैठकले अपरान्ह ४ बजे बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भनेर सामूहिक धारणा बनाउने ती नेताको भनाइ छ।

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीका साथै ती दलको संसदीय दलका सचेतकहरूको समेत सहभागिता छ।


प्रतिक्रिया दिनुहोस्