क्रान्ति नगर्ने भए माओवादी केन्द्र विघटन गरौं : प्रचण्ड

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  २ : १५


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको बाटोमा अगाडि नबढ्ने भए पार्टी विघटनको प्रस्ताव गरेका छन।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले र भीमसेन पोखरेलको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ।’

एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने अध्यक्ष दाहालको भनाई थियो।

एमालेले डलर भित्र्याएर पार्टीभित्र गुट उपगुट बलियो बनाउनु खोजेको बताउँदै सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर एमालेका नेतृत्वले पदका लागि मात्र राजनीति गरेको उनले आरोप लगाए।

अहिले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको दाहालले बताए। उनले यथास्थीतिमा एमसीसी पारित हुन नसक्ने पनि स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्