कारवाही गरिएका सांसद उपस्थित भए एमालेले संसद चल्न नदिने

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : २२


काठमाडौं । आफुले कारवाही गरेका माधव नेपालसहित १४ सांसद सदनमा उपस्थित भए संसद चल्न नदिने एमालेले बताएको छ । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले गैरसांसदलाई ढोकाबाट नफर्काउन्जेल प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका हुन् ।

ओलीले भने, ‘साउन २५ गते निष्कासन गरेको व्यक्ति उपस्थित हुन्छन् भने उनीहरू गैरसांसद हुन्। गैरसांसद उपस्थित भएपछि कसरी सभा चल्न सक्छ ।’ उनले सभामुखको स्पष्टिकरण आउनुपर्ने बताउँदै भने, ‘‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण आउला र त्यसको मूल्यांकन गरेर अघि बढौंला ।’

यस्तै सम्बोधनका क्रममा ओलीले सभामुख सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्