तालिबानद्वारा नयाँ सरकारको घोषणा, हसन अखुंद बने प्रधानमन्त्री

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : ४६


काबुल। सत्ता कब्जा गरेको तालिबान समूहले अफगानिस्तानमा नयाँ सरकारको घोषणा गरेको छ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तालिबानले मंगलबार साँझ ५ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको छ।

तालिबानका प्रवक्ताका अनुसार मुल्ला मोहम्मद हसन अखुंदले नयाँ सरकारको नेतृत्व गर्ने छन्।

मुल्ला हसनको नेतृत्वमा बन्ने सरकारमा मुल्लाह याकूब रक्षामन्त्री र सिराजुद्दीन हक्कानी गृहमन्त्री हुनेछन्।

तालिबानले १५ अगस्टमा राजधानी काबुल कब्जा गरेको थियो। विगत केही दिनदेखि तालिबानले सरकार बनाउने तयारी गरिरहेको थियो।

बीबीसीका अनुसार मुल्ला बरादार अखुंद सरकारको उपप्रधानमन्त्री हुनेछन्।

सरकारको नेतृत्व गर्ने मुल्ला मोहम्मद हसन अखुंद तालिबानको शक्तिशाली निर्णय लिने निकाय रहबारी शूरा वा नेतृत्व परिषदका प्रमुख पनि हुन्।

रिपोर्टका अनुसार उनी तालिबानको उद्गम स्थल कान्दाहारका हुन्। उनी सशस्त्र आन्दोलनका संस्थापकमध्ये एक हुन् ।

उनी सैनिक पृष्ठभूमिको नभइ तालिबान समूहभित्र धार्मिक नेताका रुपमा परिचित छन।

मुल्ला हसनले २० वर्षसम्म तालिबानका सर्वोच्च नेता हिब्तुल्लाह अखुंदजादाको निकट रहेर काम गरेका थिए।

रिपोर्टका अनुसार हक्कानी नेटवर्ककका प्रमुख सिराजुद्दीन हक्कानीलाई संघीय आन्तरिक मन्त्रीको रुपमा प्रस्ताव गरिएको छ।

तालिबानका संस्थापक प्रमुख मुल्ला मोहम्मद उमरका छोरा मुल्ला याकुबलाई रक्षा मन्त्री बनाइएको छ ।

 

तालिवानले अफगानिस्तानमा समावेशी सरकार गठनको दाबी गरेको छ। तालिबानले सोमबार पञ्जशिर कब्जा गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस्