बजारको माग बढेपछि मार्सी चामलको धानखेती बढ्दै

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : २४


खलङ्गा । कालीमार्सी धान र चामलको माग बढ्दै गएपछि जुम्लाका किसानले यसको खेतीतर्फ आकर्षित भएका छन्।

व्यापारीहरू कालीमार्सी धान तथा चामल किन्न घरदैलोमा आइपुग्दा यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्। जुम्लाका आठवटै स्थानीय तहमा कालीमार्सी धानखेती हुने गरेको छ।

पछिल्लो समयमा जुम्लामा सडक सञ्जालको पहुँच पुगेपछि देशका विभिन्न सहरबाट जुम्ली कालीमार्सी चामलको उच्च माग हुने गरेको व्यापारीहरु बताउँछन्।

जिल्ला कृषि विकास कार्यालयका अनुसार विगत दुई वर्षमा कालीमार्सी धानको खेतीमा करिब ३० प्रतिशतले वृद्धि भएको छ। जिल्लामा कूल दुई हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा एक हजार ६०० हेक्टर क्षेत्रफलमा कालीमार्सी धानको खेती हुने गरेको छ।

पहिले मार्सीधानमा रोगकीराको समस्या थियो। अहिले रोगकीरा छैन। यहाँको मौसम धान अनुकूल भएकाले पनि यसको खेती गर्ने क्षेत्रफलमा क्रमशः वृद्धि हुँदै गएको कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।

उनले भने, “कालीमार्सी चामलको माग बढ्दै गएकाले यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका छन्। कालीमार्सी धानको मूल्य प्रतिकेजी रु १०२ र चामलको मूल्य प्रतिकेजी रु १५० किसानकै घरबाटै बिक्री हुने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको कालीमार्सी धानलाई ब्राण्डका रुपमा स्थापित गर्नका लागि खरिद गर्न थालेपछि कालीमार्सी धानखेतीको विस्तार ह्वात्तै बढेको प्रमुख देवकोटाको भनाइ छ।

बजारमा कालीमार्सी धान र चामलको माग पूर्ति गर्न आफूहरूलाई मुस्किल पर्दै गएको किसान बताउँछन्।

अहिले जिल्लामा उन्नत जातको धानभन्दा कालीमार्सी धानको क्षेत्रफल बढेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

गतवर्ष कालीमार्सी चामल विदेशी क्यानडा बजारमा १५ टन निर्यात भएको थियो।

नेपालको सबैभन्दा महँगो, गुणस्तरीय, अडिलो, पोटिलो र पोषिलो चामलको रुपमा मार्सीलाई लिने गरिन्छ।

सो धानको क्षेत्रफल विस्तारका लागि कृषि विकास कार्यालय जुम्लाले स्थानीय तहसँग समन्वय गरेर बीजवृद्धि कार्यक्रम लागू गरेको छ।

यहाँको तातोपानी र हिमा गाउँपालिकासँग सहकार्य गरेर तातोपानीको लाछुजीउलो र हिमाको कोइरेली जीउलोमा मार्सीधानखेती गरिएको छ।

स्थानीय तहको ३० र कृषि कार्यालयको ७० प्रतिशत लागत सहकार्य सो कार्यक्रम सञ्चालन गरिएको कृषि विकास कार्यालये जनाएको छ।

यहाँको पातारासी गाउँपालिकाले कालीमार्सी धान बचाउनको लागि डिपिआर नै बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढ्थापाले बताए।

पछिल्लो समयमा कालीमार्सी धानमा लागेको रोगकीराको प्रकोप नियन्त्रण गर्नका लागि किसानले तदारुकता देखाउन थालेका छन।

किसान कृषि विज्ञसँग परामर्श गर्ने, धानखेतीमा लागेको रोगको बारेमा जानकारी हासिल गर्ने र घरेलु उपचार विधिसमेत अपनाउन थालेको सिञ्जा गाउँपालिका स्थानीयवासी हिम्मतबहादुर शाहले बताए।

दशैंको अवसर पारेरे रारा आउने आन्तरिक पर्यटनको रोजाइँमा मार्सी चामल रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए।

सो धान यहाँका किसान कात्तिक महिनाको पहिलो साताबाट घरमा भित्यत्राउने गरेका छन्।

कालीमार्सी धानको बीउ शुद्धीकरण नहुनु, धेरै पुरानो बीउ भएका कारण धानमा मरुवा रोग देखापर्नु तथा पशुपालन व्यवसाय घट्दै् गएका कारण भनेको समयमा मल र सिँचाइको आपूर्ति नभएपछि उत्पादन घट्दै गएको प्रमुख देवकोटाको भनाइ छ।

उनका बाह्रौँ शताब्दीमा गुरु चन्दननाथ बाबाले भारतको कश्मीरबाट धानको बीउ ल्याएर जुम्लाको तातोपानी गाउँपालिका–३ स्थित लाछु ज्युलामा परीक्षण गर्दा धान उत्पादन हुन थालेपछि जुम्लामा धान खेतीको सुरुआत भएको मानिन्छ।

त्यसपछि लाछु, ज्युलो र अन्य ठाउँमा धान रोप्दै जाँदा जुम्लामा पनि धानखेती हुन थालेको उनको भनाइ छ।

तत्कालीन छुमचौर गाविस र हालको पातरासी गाउँपालिकाको छुम ज्युलोमा पनि धान फल्न थालेपछि कालीमार्सी धानले विश्वमा समेत पहिचान कमाउन सफल भएको भन्न सकिने आधारहरू रहेको प्रमुख देवकोटाले बताए। १२ औँ शताब्दीदेखि अहिलेसम्म जुम्लाको धान फल्ने सबै स्थानमा किसानहरूले चन्दननाथ भैरवनाथ मन्दिरमा सिकको रूपमा चामल दिँदै आएका छन्।

गुरु चन्दननाथ बाबाले धानको शुरूवात गरेको हुनाले त्यसको सम्झनामा धानको बाली अझै राम्रो होस् भन्ने भाकल गर्दै हरेक वर्ष नयाँ धान भित्र्याउनासाथ मन्दिरमा सिक दिने गरेको संस्कृतिसम्बन्धी जानकार तथा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका सदस्य सचिव रमानन्द आचार्यले बताए।

उनले भने, ‘जुम्लामा धान उत्पादनको शुरूवातकर्ता गुरु चन्दननाथ बाबालाई मान्ने गरेको हुनाले उनकोे सम्झना स्वरूप सिक दिन थालिएको हो। रासस


प्रतिक्रिया दिनुहोस्