आठ जनालाई कोरोना जानाजान सारेपछि भियतनाममा यी व्यक्तिलाई पाँच वर्ष जेल

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : ३२


कोरोना भाइरस जानाजान सारेको अभियोगमा दोषी पाइएका एक व्यक्तिलाई भियतनाममा पाँच वर्षको जेल सजाय सुनाइएको छ।

कोभिड १९ नियन्त्रण गर्न लागु गरिएको नियम उल्लङ्घन गरेको तथा कोरोनाभाइरस फैलाएको अभियोगमा ले भान ट्री नाम गरेका व्यक्तिलाई जेल सजाय सुनाइएको हो।

बीबीसीका अनुसार उनले आठ जनालाई कोरोना भाइरस सारेको अदालतले ठहर गरेको छ। ती आठ जनामध्ये एक जनाको उक्त रोगकै कारण मृत्यु भएको बताइएको छ।

भियतनाममा पाँच लाख ३० हजार जनाभन्दा बढी मानिस कोरोनाभाइरस सङ्क्रमित भइसकेका छन्। तीमध्ये १३,३०० जनाको मृत्यु भएको तथ्याङ्क छ।

जुलाईमा २८ वर्षीय ट्री राजधानीबाट मोटरसाइकलमा देशको दक्षिण भेगमा अवस्थित आफ्नो घर भएको सा माऊ प्रान्त गएको बताइएको छ।

सा माऊमा उनले स्वास्थ्य फारम भर्दा यात्रासम्बन्धी विवरणबारे असत्य कुरा लेखेको पाइएको थियो। अनि उनले आइसोलेशनसम्बन्धी नियम पनि पालना नगरेको पाइयो।

स्थानीय निकायले त्यतिबेला अरू प्रान्तबाट सा माऊ आउने सबै मानिसले तत्कालै २१ दिन अरूबाट अलग्गिएर बस्नुपर्ने नियम लागु गरेको थियो। ट्रीलाई पछि कोभिड भएको पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस्