पपुवा न्युगिनीविरुद्ध नेपालको जित

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ०४


काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। मंगलबार ओमानको मस्कटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेट  गुमाउँदै भेट्टायो।

नेपालको जितमा रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए। यस्तै आसिफ शेखले ३०, सोमपाल कामी २२ र कुशल भुर्तेलले १५ रन बनाए।

पपुवा न्युगिनीका गौदी टोकाले सर्वाधिक ३ विकेट लिए भने डामियन रभु र चाद सोपुरले समान २-२ विकेट लिए। नोसाइना पोकनाले एक विकेट लिए।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १५ रनमा गुमाएको थियो। २८ बलमा २ चौका प्रहार गरेका कुशललाई चाद सुपरले एलबिडब्लु आउट गरे।

यस्तै दोस्रो विकेटको रुपमा आशिफ शेखलाई नेपालले ३० रनमा गुमायो। ४६ बलमा ४ चौका प्रहार गरेका आशिफलाई डानियन रभुले टाकाको हातबाट क्याच आउट गराए।

नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अल आउट हुँदै १३४ रनमा समेटिएको थियो।

पीएनजीका लेगा सियकाले सर्वाधिक ३० रन बनाए। उनले ३८ बल खेले । यस्तै कार्लेस अमिनीले २३ रन बनाउँदा गाउदी टोकाले २२ रन जोडे । चाड सोपरले १७ रन बनाउँदा विकेट किपरसमेत रहेका किल्पिन डोरिगा र सेसे बाउले समान १४/१४ रन जोडे।

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। यस्तै कुशल मल्ल र डेब्यु खेलाडी विक्रम सोबले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए।

१० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चेका थिए। यस्तै डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोबले ५ ओभर बलिङ गर्दा २० रन खर्चेर १ मेडनसहित २ विकेट लिए। यता, कुशल मल्लले ७ ओभर बलिङ गर्दै २ विकेट लिएर १९ रन खर्चिदा १ मेडन राखे। ७ ओभर बलिङ गरेका सोमपालले ३७ रन खर्चेर १ विकेट लिएका थिए।

यसअघि दोस्रो ओभरको पहिलो बलमै विक्रमले पीएनजीका सुरुवाती ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गरेका थिए।

पीएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन्।

नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी र करण केसीलाई आराम दिएको छ।

दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेलेको हो।

नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ।

 


प्रतिक्रिया दिनुहोस्