भारतको मध्य प्रदेशमा ६ बालिकालाई निर्वस्त्र पारेर सडकमा परेड, यस्तो छ कारण

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ४ : १२


मध्य प्रदेश । भारतको मध्य प्रदेशमा ६ बालिकालाई निर्वस्त्र पारेर सडकमा परेड गराइएको छ।

लामो समयसम्म पानी नपरेपछि वर्षाका देवतालाई खुसी पार्न भन्दै स्थानीयले बालिकालाई निर्वस्त्र परेड गराएका हुन्।

खडेरीबाट अति प्रभावित बुन्देलखाँड जिल्लाको एउटा गाँउमा पछिल्लो घटना सार्वजनिक भएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा निर्वस्त्र बालिकाहरुले काँधमा बोकेको एउटा पाइपमा भ्यागुतो बाँधिएको देखिन्छ । यस परम्पराले वर्षाका देवता खुसी भएर पानी पर्ने स्थानीयको विश्वास छ।

बालिकाको पछाडि महिलाहरुको एउटा समूहले गीत गाएर हिडेको भिडियोमा देखिन्छ।

लस्करमा हिँडेका बालिकाले गाउँका प्रत्येक घरमा पुगेर खाद्यान्नसमेत बटुलेका थिए। सो खाद्यान्नलाई एउटा स्थानीय मन्दिरलाई प्रदान गरिएको थियो।

‘यति गरे पछि अब पानी पर्छ,’ लाइनमा उभिएकी एक महिलाको भनाइ उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।

भारतको बाल अधिकार संरक्षणसम्बन्धी राष्ट्रिय आयोगले सो घटनाप्रति चासो देखाएको छ।

सो घटनाबारे कुनै औपचारिक उजुरी नपरेको मध्य प्रदेश प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको र किशोरीलाई निर्वस्त्र हिँड्न बाध्य पारेको पाइएमा दोषीमाथि कडा कारबाही गरिने एक प्रहरी अधिकारीले बताएका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्