तालिबानले ६ राष्ट्रलाई सपथग्रहण कार्यक्रमको लागि निम्तो पठायो, पश्चिमा राष्ट्र छैनन् प्राथमिकतामा

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : २६


तालिबानले अफगानिस्तान पुरै कब्जा गरिसकेता पनि हालसम्म त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया पुरा हुन सकेको छैन। सोमबार पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले चाँडै सरकार गठन प्रक्रिया पुरा हुने बताएका थिए।

अन्तर्राष्ट्रिय संचारमाध्यका अनुसार तालिबानले नयाँ सरकार घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। खबरअनुसार सोमबार बेलुकासम्म लगभग सरकार गठनले आकार लिइसकेको थियो।

इन्डिया टुडेका अनुसार सरकार बनाउने प्रक्रिया पुरा हुनै लाग्दा तालिबानले आफू निकटका ६ मुलुकका प्रतिनिधिलाई सरकारको शपथग्रहण समारोहमा उपस्थित हुन निम्तो दिएको छ।

खबरअनुसार चीन, रुस, पाकिस्तान, इरान, कतार र टर्कीलाई तालिबानले कार्यक्रममा निम्तो दिएको छ। तालिबानले आफूसँग राम्रो सम्बन्ध भएका मुलुकका प्रतिनिधिलाई निम्तो दिएको हो। निम्तोको सूचीमा पश्चिमा राष्ट्रहरु नपरेको उल्लेख गरिएको छ।

खबरअनुसार तालिबानले निम्तो दिएको मुलुकको सम्बन्ध अमेरिका र उसका साझेदार मुलुकसँग घनिष्ठ छैन।


प्रतिक्रिया दिनुहोस्