पढ्न चाहने महिलाको लागि तालिबानको ड्रेस कोडः शरीर ढाक्ने कपडा लगाउनु पर्ने

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ०३


तालिबान अफगानिस्तानको सत्तामा आएसँगै महिला अधिकार कुण्ठित हुने र उनीहरुले पढ्न नपाउने साथै घर बाहिरको काम गर्न नपाउने नियम लागू हुनसक्ने आशंका व्यक्त गरिएको थियो।

तर तालिबानले घर बाहिर महिलालाई काम गर्न दिने भएको छ। साथै महिलाले अफगानिस्तानमा विद्यालय, कलेज तथा विश्वविद्यालयमा पढ्न पाउने भएका छन्। हालै तालिबानका प्रवक्ताले अस्पतालमा काम गर्ने सबै महिलालाई काममा फर्कन निर्देशन दिएका थिए।

यतिबेला विद्यालय, कलेज र विश्वविद्यालयको सन्दर्भमा तालिबानले नयाँ नियम सार्वजनिक गरेको छ। नियमअनुसार महिलाहरुले विद्यालय, कलेज र विश्वविद्यालय पढ्न पाउनेछन्। तर उनीहरुले पहिरन सम्बन्धी नियम भने पालना गर्नुपर्नेछ।

सीजीटीएनका अनुसार तालिबानको शिक्षा मन्त्रालयले जारी गरेको सूचनाअनुसार महिलाहरु पढ्न जाँदा शरीर पुरै ढाक्ने कपडा लगाएर कक्षामा जानु पर्नेछ। उनीहरुले लगाउने कपडा कालो रङको हुनुपर्नेछ साथै मुख छोप्नलाई नकाब अथवा अबया रोब लगाउनुपर्नेछ।

महिला र पुरुषलाई पढाईने कक्षाहरु फरक हुनेछन् भने महिला शिक्षिकाले महिलालाई पढाउनेछन्। अथवा वृद्ध शिक्षक जसको आचरण ठिक छ उनलाई पनि महिला विद्यार्थीको शिक्षकको रुपमा नियुक्त गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस्