नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय खेल आज

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : ३७


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी)सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुने नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।

नेपालले आज १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो । जुनखेलमा नेपालले अमेरिकालाई ३५ रनमा समेट्दै सहज जित हासिल गरेको थियो ।

नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो । यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ । जसमा एक मात्र  खेलमा नेपालले जित हासिल गरेकाे छ ।

नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस्